रचनात्मक एंवम् अहिंसात्मक आन्दोलन: मञ्चले आफ्नो अधिकार प्राप्तिको लागि हिंसाको सहारा लिदैन । तोडफोड गर्ने वा हिंसाजन्य कार्यबाट बाध्यकारी अवस्था सृजना गर्ने कामलाई आफ्नो मान्यता विपरित ठान्छ । सामाजिक आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुनुपर्छ भन्नेमा अटल विश्वास राख्छ र हिंसात्मक क्रियाकलापलाई अस्वीकार गर्छ । हरेक सदस्य, अगुवा नेता एंव कार्यकर्ताबाट नयाँ र सिर्जनात्मक कामको अपेक्षा राख्छ । सिर्जनात्मकता यसको प्राण हो ।
वर्गीय पक्षधरताः यो संगठन जुनसुकै परिस्थितीमा पनि गरिबको पक्षमा उभिनेछ । सदस्य, अगुवा नेता, कार्यकर्ता र यसको नेतृत्वसमेत भूमि अधिकारबाट बञ्चित गरिबको हुनेछ । भूमिको असमान वितरणका कारण राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक रुपले पछाडि पारिएकाको साझा मञ्चका रुपमा रुपमा संगठन स्थापित गरिनेछ ।
समावेशी संरचनाः महिला, दलित, जनजाति भूमिका ज्यादा श्रम गर्छन् । जसले जमिनमा श्रम गर्छ, पसिना बगाउछ, त्यहि समुदाय भोकै बस्नुपर्ने अवस्था अन्त्यको लागि निर्माण भएको संगठन समावेशी हुनैपर्छ । यसको सबै तहमा न्यायपूर्ण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ ।
जातीय लैङ्गिक समानताः समाजमा विद्यमान जाति, लिङ्ग र समुदायको समान सहभागिता र उनीहरुकै नेतृत्वमा हुने कुराको यो संगठन ग्यारेन्टी गर्छ ।
काम राजनैतीक तर प्रत्यक्ष दलगत संलग्नताबाट मुक्त : राष्ट्रिय भूमि अधिकार मञ्च, नेपाल फरक फरक आस्था राख्ने बहुविचार भएकाहरुको संगठन हो । संगठनले सबै सदस्यको फरक राजनैतीक अवस्थाको सम्मान गर्छ । भूमि अधिकार प्राप्तिका लागि संगठन निर्माण, वैचारिक छलफल र अधिकार दाबीका लागि हुने आन्दोलनमा कुनै पनि राजनैतीक आस्थाबाट प्रभावित हुने कुरामा सचेत व्यबहार गर्छ ।
कृषि कार्यमा लागेकालाई भूमिः जमिनमा श्रम गर्ने दुखी छ, भोकै छ । नुनिला आँसु बगाएर जीवन काटिरहेको छ । यो अन्यायपूर्ण परिपाटीको अन्त्य र सामाजिक न्याय स्थापनाका लागि “जमिनः कृषि कर्ममा लागेका जमिनमा आश्रितका लागि” भन्ने मान्यता राख्दछ ।
धर्म निरपेक्षताः राष्ट्रिय भूमि अधिकार मञ्च, नेपाल कुनै पनि सम्प्रदाय वा धर्मको सम्मान गर्छ । व्यक्तिको आस्थामा असर पार्ने कुनै पनि कार्य गर्नबाट संगठनलाई तटस्थ राख्छ । धर्म व्यक्तिको निजी मामला भएको हुँदा धर्म निरपेक्षता संगठनको मुल्य मान्यता रहेको छ ।
अधिकारबाट बञ्चितको आफ्नै अगुवाइ र नेतृत्वमा आन्दोलनः राष्ट्रिय भूमि अधिकार मञ्च, नेपाल कसैको अधिकार कसैले ल्याएर दिने कुरा प्रति विश्वास गर्दैन । अधिकार अगुवाई वा नेतृत्व वस्तुसरह कसैले दया गरेर कसैलाई ल्याएर दिइन्छ भन्ने भ्रमबाट आफूलाई मुक्त राखेको छ । अधिकार प्राप्तिका लागि पीडितकै अगुवाइ र यसै मान्यतालाई आत्मसात् गर्दै पीडितकै सहभागिता र नेतृत्वमा आन्दोलन गर्दै आइरहेको छ ।
पारदर्शिताः संगठनले गर्ने अभियान र त्यसमा लाग्ने खर्चको हरहिसाब आफ्ना सदस्य र सरोकारवाला निकायबीच सार्वजनिक गर्नु त्यसको सार्वजनिक लेखाजोखा गर्ने कामलाई नित्य कर्मको रुपमा आत्मसात् गरेको छ । यो नियमित प्रक्रिया हो र सार्वजनिक रुपले आफूलाई परिक्षण गर्ने सशक्त औजार मान्छ । यस संगठनका तलदेखि माथि सम्मका सबै कमिटीले आफूले गरेको काम, लागत र उपलब्धीलाई सार्वजनिक गर्ने, सार्वजनिक रुपमा आफूलाई परिक्षण गर्ने काम महत्वपूर्ण हो भन्ने ठान्छ । त्यसैले पारदर्शितालाई संगठनको मुल्य मान्यताको रुपमा ग्रहण गरी व्यबहारमा आफूलाई परिक्षण गर्न जोड दिइरहेको छ ।
सहभागिमुलक प्रक्रिया र व्यबहार: संगठनले आफ्नो वैठक, भेला, छलफल, ¥याली, जुलुस लगायतका सबै काममा सहभागीमुलक प्रक्रिया आत्मसात् गर्छ । सहभागीमुलक प्रक्रिया र व्यबहार संगठनको जीवन पद्धतिको रुपमा रहेको छ ।